सरकार-चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र चिकित्सकबीच सहमति भएकाे छ। सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन्।

गत शुक्रबार प्रहरीको लाठीचार्जबाट ट्रमा सेन्टरका एक चिकित्सक घाइते भएपछि त्यसको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय भएको थियो।

सेवा प्रभावित गरेर चिकित्सक आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघलाई वार्ताका लागि बोलाएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकबीच भएको वार्तापछि ६ बुँदै सहमति भएको छ।

वार्ताका क्रममा कुटपिटका सम्बन्धमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले व्यहाेर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नेलगायतका सहमति भएको छ। सहमतिपछि संघले आन्दाेलनका कार्यक्रम स्ठगित गरेकाे छ।

६ बुँदे सहमतिमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार