बुटवलको पशु बधशाला सञ्चालन हुने

बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिकाबीचमा पशु बधशाला सञ्चालन गर्ने सहमति भएको हो । दुई पक्षबीच भएको सहमतिअनुसार पशु बधशाला छिट्टै सञ्चालनमा आउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जानकारी दिनुभयाे।

सार्वजनिक, निजी र सहकारी उत्पादक साझेदारी अवधारणा बमोजिम बधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिने उहाँले बताउनुभयाे। बधशाला सञ्चालनका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गर्ने प्रमुख पाण्डेले बताउनुभयाे।

बधशाला सञ्चालनमा बाख्रापालन गर्ने किसानदेखि मासु बिक्री गर्ने व्यवसायीसम्म बधशाला निर्माण र सञ्चालनमा साझेदार रहेको र सोहीअनुसार बधशाला सञ्चालन हुने उहाँले बताउनुभयाे। बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ ।

विधेयकले पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरेको छ । कानूनी हिसाबले समेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसले बुटवलबासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउने नगर प्रमुख पाण्डेयले बताउनुभयाे ।

बधशाला सञ्चालनका लागि एक हप्ताभित्र विस्तृत सम्झौता हुने र लगत्तै सञ्चालन हुने गरी सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयाे । उहाँले बधशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन भएको र कार्यदलले नियमित रुपमा अनुगमन र व्यवस्थापन समेत गर्ने निर्णय भएको बताउनुभयाे।

बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका अध्यक्ष समेत रहनुभएका रुपन्देही मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकासँग पशु बधशाला सञ्चालनका लागि देखिएका अन्योल टुंगिएकाले छिटै नै बधशाला सञ्चालन हुने बताउनुभयाे।

उहाँले बधशालाको परीक्षण समेत भइसकेकाले सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरेर बधशाला सञ्चालनमा ल्याउने बताउनुभयो । बधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपैयाँ बुझाउने भएका छन् ।

बुटवल उपमहानगरपालिका-१० रामनगरमा २ बिघा ३ कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार