८ प्रतिशत नेपाली विदेशमा

काठमाडौं । विदेशमा बस्ने नेपालीको संख्या कुल जनसंख्याको आठ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार विदेशमा बस्ने नेपालीको संख्या कुल जनसंख्याको आठ प्रतिशत अर्थात् २१ लाख ९० हजार पाँच सय ९२ जना छन् ।

जनगणनाअनुसार देशका १५ लाख ५५ हजार नौ सय ६१ वटा परिवारहरुबाट २१ लाख ९० हजार पाँच सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गर्ने गरेका छन् । जसमध्ये १७ लाख ९९ हजार छ सय ७५ पुरुष र (८२.२ प्रतिशत) र तीन लाख ९० हजार नौ सय १७ महिला (२५.४ प्रतिशत) छन् । १५ लाख ५५ हजार नौ सय ६१ वटा परिवारका कम्तीमा पनि एक जना सदस्य विदेशमा बस्ने बताइएको छ ।

२०६८ को जनगणनाको तुलनामा हाल विदेशमा बस्ने नेपाली १२ दशमलव २८ प्रतिशतले बढी हो । २०६८ को जनगणनाअनुरुप १३ लाख ७८ हजार छ सय ७८ वटा परिवारबाट १९ लाख २१ हजार चार सय ९४ जना परिवार विदेशमा रहेका थिए । जसमध्ये १६ लाख ८४ हजार २९ जना पुरुष (८७.६ प्रतिशत) र दुई लाख ३७ हजार चार सय जना महिला (१२.४ प्रतिशत) रहेका थिए ।

हालको जनगणनाअनुरुप नगरपालिकाको हकमा भने १४ लाख ६८ हजार पाँच सय १७ जना (६७.०४ प्रतिशत) र गाउँपालिकाको हकमा सात लाख २२ हजार ७५ जना (३२.९६ प्रतिशत) नेपाली विदेशमा छन् ।

भौगोलिक क्षेत्रअनुरुप हिमालका एक लाख १६ हजार जना, पहाडका नौ लाख ९० हजार सात जना र तराईका १० लाख ८३ हजार आठ जना छन् । उनीहरु अर्थात् हिमालका ६६ हजार नौ सयवटा, पहाडका छ लाख ९१ हजार नौ सयवटा र तराईका सात लाख ९७ हजारवटा परिवारबाट गएका हुन् ।

प्रदेशगत रुपमा हेर्दा कोशीका तीन लाख ४३ हजार तीन सय जना, मधेशका तीन लाख चार हजार दुई सय जना, बागमतीका तीन लाख ९७ हजार नौ सय जना, गण्डकीका दुई लाख ८६ हजार पाँच सय जना, लुम्बिनी चार लाख २० हजार नौ सय जना, कर्णालीका ९४ हजार तीन सय जना र सुदूरपश्चिमका तीन लाख ४३ हजार तीन सय जना नेपाली विदेशमा छन् । उनीहरु अर्थात् कोशीका दुई लाख ६९ हजार आठ सय ९२ घरपरिवार, मधेशका दुई लाख ५२ हजार १५, बागमतीका दुई लाख ८३ हजार दुई सय २८, गण्डकीका दुई लाख ७९ हजार १०, लुम्बिनीका तीन लाख आठ हजार ७३, कर्णालीका ६२ हजार सात सय २८ र सुदूरपश्चिमका एक लाख ७२ हजार एक सय १५ परिवारबाट विदेश गएका हुन् ।

सरकारी तथ्यांकअनुरुप नै प्रत्येक महिना ६० देखि ७५ हजार नेपालीले श्रम स्वीकृति लिने गरेका छन् । अर्कोतर्फ पढ्नका लागि भन्दै विकसित अर्थात् अमेरिका तथा युरोपेली मुलुक जाने नेपालीको संख्या समेत ठूलो छ । जसले गर्दा काम गर्न जान र पढ्न जाने युवाहरु विदेशतिर बस्ने प्रवृत्ति समेत बढ्दो हुँदा विदेशमा बस्ने नेपालीको संख्या बढ्दै गएको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार