बैंकिङ क्षेत्रमाथिको आक्रमण नरोके वैदेशिक लगानी बन्द हुने आशंका

काठमाडौं । बैंक तथा वित्तीय संस्थामाथि अहिले भइरहेको आक्रमण नरोके वैदेशिक लगानी बन्द हुनसक्ने भन्दै बैंकर्स संघले चिन्ता व्यक्त गरेको छ । बिहीबार पत्रकारहरुसँगको नियमित भेटघाटमा संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले अहिले भइरहेको अराजक गतिविधिले नेपालको छवि बिग्रिने र वैदेशिक लगानी बन्द हुनसक्ने बताएका हुन् ।

‘नेपालमा बैंक तथा वित्तीय संस्थामाथि जुन किसिमका गतिविधि भइरहेको छ, विदेशी (बाहिर) बाट नेपालमा यो के भइरहेको छ भन्ने कुराहरु आएको छ’, अध्यक्ष केसीले भने, ‘नेपाल त्यसै पनि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउने मामलामा धेरै कमजोर छ । यही बेला बैंकमाथि आक्रमण हुँदा एफडीआई थप ल्याउने त कुरा छाडौँ आइरहेको पनि बाहिरबाट रोकिन्छ ।’ एफडीआई रोकियो भने नेपालको अहिले चलिरहेको अर्थतन्त्र पनि ठप्प हुनेछ र अन्तर्राष्ट्रियजगत्मा गलत सन्देश जानेछ ।

केसीले अहिले केही बैंकहरुले विदेशबाट पैसा ल्याइरहेको अवस्थामा बैंकविरुद्ध भएका गतिविधिले नेपालका बैंकप्रतिको विश्वास गुम्दै जाने र पैसा आउन बन्द हुने दाबी गरेका हुन् । अहिले सडकबाट भइरहेको आक्रमण बैंकमाथि मात्रै नभएर चार करोड ८४ लाख खातावालाहरुमाथि भएको रुपमा लिनुपर्ने उनको जिकिर छ । बैंकबाट ऋण लिनेहरुले ऋण तिर्दिन भन्ने गर्दा निक्षेपकर्ताको पैसा समेत जोखिम पर्छ । त्यही भएर बैंक तथा वित्तीय संस्थामाथि हुने जुनसुकै अवाञ्छित गतिविधिको विदेशीले विरोध गर्ने गर्छन् । नेपालमा बैंक नै सुरक्षित छैन भन्ने सन्देश गएमा ठूलो आर्थिक झट्का लाग्नेछ ।

बाह्य क्षेत्र सकारात्मक रहेको, बैंकमा तरलता सहज बन्दै गएको र ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा बैंकमाथि आक्रमण हुँदा अन्तर्राष्ट्रियस्तरमा देशकै छवि बिग्रिने बताइएको छ । उनले अहिले नेपालका बैंकहरुको स्थिति खराब नरहेको दाबीसमेत गरे । निक्षेपको वृद्धिदर विस्तारै बढ्दै गएकोले चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

बजारमा आर्थिक गतिविधि कम भएकोले ऋणीको ऋण तिर्ने क्षमतामा कमी आउँदा बैंकहरुको खराब कर्जा केही बढे पनि आत्तिनुपर्ने अवस्था नरहेको दाबी गरे । उनले ब्याजदर अत्यधिक महँगो नभएको पनि बताए । नेपालको कर्जाको औसत ब्याजदर १२ देखि १३ प्रतिशत रहने गरेकाले अहिलेको ब्याजदर पनि औसतभन्दा धेरै नभएको बताउँदै उनले भने, ‘नेपालमा साधारणतया कर्जाको औसात ब्याजदर १२ देखि १३ प्रतिशतमा बसिराखेकै हो, २०६९ सालमा पनि १३ प्रतिशत थियो, अहिले पनि १३ प्रतिशतमै छ । त्यसैले अहिलेको ब्याजदर उच्च होइन’, उनले भने, ‘अहिले ब्याजदरकै कारणले सबै कुरा बिग्रियो भन्ने ठीक होइन, यहाँ अन्य कुराहरुले धेरै असर गरेको छ ।’

उनले नेपालमा अहिले भएकोे ब्याजदर अन्य देशको तुलनामा कम रहेको पनि बताए । सरकारले पुँजीगत खर्च गर्न नसक्दा निक्षेप अपेक्षित रुपमा नबढेको उनको भनाइ छ । संघका अनुसार पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुको निक्षेप चार खर्ब ४० अर्ब रुपैयाँले बढेको छ । गत वर्ष फागुनमा ४३ खर्ब ३३ अर्ब रुपैयाँ रहेको निक्षेप यस वर्ष फागुनमा ४७ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप संकलनको तुलनामा कर्जा लगानी वृद्धि भने कम देखिएको छ । संघका अनुसार गत वर्ष फागुनमा ४१ खर्ब ७२ अर्ब रुपैयाँ रहेको कर्जा लगानी त्यसयता एक खर्ब नौ अर्ब रुपैयाँले बढेर अहिले फागुनमा ४२ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ ।

कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले स्थानीय तहको निक्षेपमा गणना गर्न पाउने व्यवस्था असार मसान्तसम्म मात्रै रहेकाले त्यसपछि बैंकहरुको निक्षेपमा चाप पर्नसक्ने बताए । सरकारले बजेट खर्च बढाउन नसक्दा निक्षेप अपेक्षित रुपमा नबढेको उनले बताए । यस्तै खराब कर्जा बढ्नुमा निर्माण क्षेत्रमा पैसा खर्च हुन नसक्नु रहेकाले पनि सरकारले बजेट खर्च बढाउनेबित्तिकै त्यो स्थितिको अन्त्य हुने दाबी गरे । उनले भने, ‘बैंकहरुको खराब कर्जाको केही भाग निर्माण क्षेत्रबाट पनि आएको छ, तेस्रो त्रैमासिकमा सरकारबाट खर्च बढ्यो भने यो स्थिति कम भएर जान्छ ।’ खराब कर्जा नबढोस् भनेर बैंकहरु सचेत रहेको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार