पशुपति परिसरको तस्बिर खिच्ने दर्शनार्थीको मोबाइल जफत

पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवाना गर्ने गरी कोषले नियम बनाएको थियो। यो नियम अनुसार करिब आज मात्रै एक सयभन्दा बढी दर्शनार्थीले खल्तीबाट मोबाइल निकाल्ने बित्तिकै कोषका कर्मचारी र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

तस्बिर र भिडियो नखिची निकालेको अवस्थामा नियन्त्रणमा लिइएको मोबाइल दर्शनार्थी दर्शन गरेर फर्कने क्रममा फिर्ता गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।

दिउँसो तीन बजेसम्म कुनै पनि भक्तजनको मोबाइलबाट पशुपतिनाथ मूल मन्दिरको तस्बिर खिचिएको छैन। तस्बिर नै खिचेका मोबाइल भने फिर्ता नगरिने कोषले जनाएको छ। तस्बिर मोबाइलबाट मेटाउँदा पनि प्रविधिका माध्यमबाट त्यसलाई पुनर्स्थापित गर्न सकिने भएकाले तस्बिर र भिडियो खिच्ने भक्तजनको मोबाइल फिर्ता नगर्ने गरी कोषले नियम बनाएको हो। पशुपतिनाथको मूल मन्दिर परिसरको तस्बिर र भिडियो सनातनकालदेखि नै खिच्न नपाउने नियम छ।

हालै सामाजिक सञ्जालमा पशुपतिनाथ मूल मन्दिरको भिडियो र तस्बिर भाइरल गराइएकाले कोष यो वर्षको तिजमा कडा रुपमा प्रस्तुत भएको हो। यसलाई आगामी पर्व एवं दैनिक दर्शनार्थीका लागि लागू गरिने भएको छ। पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही सुरु गरिएको हो।

सनातनकालदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यसरी कडा नियम बनाएर सशक्त रुपमा कार्यान्वयन गरेको हो। कोषले गत वर्षदेखि नै गर्भगृहको तस्बिर खिचेमा दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा पाँच सय जरिवाना गर्न सुरु गरिसकेको छ।

पशुपपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गरिरहेका छन्। यसमा कोषलाई चार वटै सुरक्षा निकायले पनि साथ दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार