मंसिर लागिसक्दा पनि किन घटेन डेंगुको जोखिम ?

काठमाडौं । मंसिर सुरु हुँदा पनि डेंगुको जोखिम कम भएको छैन । अघिल्ला वर्षको अवस्था हेर्ने हो भने डेंगु सामान्यतया जेठदेखि भदौसम्म तीव्र रूपमा फैलिएर असोज महिना लागेपछि बिस्तारै संक्रमण ओरालो लाग्ने गरेको पाइन्छ ।

जसकारण चिसो मौसम सुरु हुनु र बिस्तारै मनसुन बाहिरिंदै जाँदा डेंगु संक्रमण बनाउने लामखुट्टेको प्रभाव कम हुँदै जानु हो । तर यो वर्ष भने मंसिर महिना लागिसक्दा पनि संक्रमणको जोखिम कम भएको छैन ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शङ्कास्पद बिरामी दैनिक १२ जना पुग्ने गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । उनी भन्छन्, ‘चिसो मौसम सुरु भइसक्दा पनि डेंगुको जोखिम घटेको छैन । तापक्रम १० डिग्री सेल्सियस भन्दा तल नओर्लिएसम्म नभएसम्म जोखिम कायम रहन्छ ।’

संक्रमण घट्न अझै दुई हप्ता जति लाग्न सक्ने डा. पुन बताउँछन् । ‘अघिल्ला वर्षहरूमा असोज महिनाको अन्त्यसम्ममा डेंगुको जोखिम बिस्तारै कम भएर जान्थ्यो । तर यो वर्ष अलि लामो समय रह्यो । कात्तिक महिना सकिंदा पनि जोखिम कम भएको छैन,’ उनी भन्छन् ।

किन रोकिएन संक्रमण ?

डेंगु सार्ने लामखुट्टे १० देखि १२ डिग्री सेल्सियस तापक्रम रहँदासम्म हराउँदैन । हिजोआज पहाडी क्षेत्रको तापक्रम १० देखि १२ डिग्री सेल्सियसभित्रै रहेका कारण लामखुट्टे नहराएको र डेंगुको जोखिम रहिरहेको डा. पुन बताउँछन् ।

‘मनसुन सकिएलगत्तै विकास निर्माणको काम सुरु हुन्छ जसले गर्दा सडकमा खाल्डाखुल्डी बढ्छन् । त्यो खाल्डाखुल्डीमा पानी जम्मा हुन्छ । जुन लामखुट्टेको वृद्धि विकासको लागि सजिलो भयो, जसले गर्दा डेंगुको संक्रमण बढ्छ,’ उनी भन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार