कोशी प्रदेश नामकरण गरिएको विरोधमा विराटनगरमा झडप

काठमाडौं । कोशी प्रदेश नामकरण गरिएको विरोधमा आदिवासी जनजाति समुदायको प्रदर्शनका क्रममा मंगलबार झडप भएको छ ।

विराटनगरमा मंगलबार प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिको आन्दोलनमा प्रर्दशनकारी र प्रहरीबीच झडप भएको हो ।

प्रदर्शनकारीले विराटनगरको रोडशेष चोकमा प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो ।

आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनलाई मत्थर पार्न अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

रोडशेष चोकमा रहेको बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने प्रदेश सांसदहरूलाई दबाब दिन भन्दै पहिचानवादीहरु सोही ठाउँमा पुगेका थिए । आन्दोलनका कारण उक्त कार्यक्रम आयोजकले स्थगित गरेको छ ।

प्रहरी र आन्दोलनकारीबीचको दोहोरो झडपका कारण विराटनगरको रोडशेष क्षेत्र तनावग्रस्त बनेको छ । प्रर्दशनकारीले होटलमा समेत ढुंगा प्रहार गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार