काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको भू–राजनीतिक अवस्थित र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीले सूरक्षा चुनौती बढी रहेको बताउनुभएको छ ।
राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे।प्रधानमन्त्री दाहालले अहिलेका सुरक्षा चुनौतीका आयाम र त्यसका कारण हुन सक्ने खतरा औंल्याउनुभएको हो । वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको उहाँकाे भनाइ थियाे ।
देशको भू–राजनीतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव परिरहेको बताउनुभयो । उहाँले राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरु लगायतका चुनौती विद्यमान रहेको टिप्पणी गर्नुभयो ।
यस्ता चुनौतीहरूको डटेर सामना गर्नुपर्ने पनि उहाँले उल्लेख गर्नुभयाे । प्रधानमन्त्री दाहालले राजनीतिक, अर्थतन्त्र, कूटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउनु पर्ने बताउनुभयाे । समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गर्नुपर्ने उहाँकाे भनाइ थियाे ।
परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्यांकन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी रहेको उहाँले बताउनुभयो ।