अर्थ मन्त्रालयले तय ग-यो बजेट निर्माणको कार्यतालिका

काठमाडौं । अर्थ मन्त्रालय अहिले नेतृत्वविहीन छ । यही बेला अर्थतन्त्रमा समस्या आएको भनेर सरकारमाथि चौतर्फी दबाब छ । ब्याजदर उच्च छ । बजार चलायमान छैन । सरकारको राजस्व आम्दानी खुम्चिएको छ । अर्थमन्त्री नहुँदा अर्थतन्त्रमा देखिएका यस्ता समस्याको समाधानको पहलकदमी हुन सकिरहेको छैन । यही बेला आगामी आर्थिक वर्षको बजेट ल्याउने समय पनि नजिकिँदै छ ।

जेठ १५ गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर अर्थमन्त्री नहुँदा बजेट निर्माणमा असर पुग्ने भन्दै मन्त्रालयका अधिकारीहरु अलमलमा देखिन्छन् । यद्यपि मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तर्जुमा कार्यतालिका भने तय गरेको छ ।

मन्त्रालयले तय गरेको तालिकाअनुसार चैत २४ गतेसम्म बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र उपलब्धिसहितका सूचकहरु सम्बन्धित महाशाखाबाट लिने कार्य हुनेछ । चैत १५ गतेदेखि वैशाख १० गतेसम्म बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना जारी गरी सुझाव संकलन गर्ने, चैत १९ देखि २४ गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल गर्ने तालिका छ । चैत २१ गतेदेखि राजस्व परामर्श समितिबाट प्राप्त सुझावमाथि छलफल हुनेछ ।

चैत २६ देखि २८ सम्म बजेटका उद्देश्य, प्राथमिकता र मुख्य कार्यक्रमको सांसदहरुसँग प्रदेशगत छलफल गर्ने, वैशाख २० गतेसम्म प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयहरु र संघीय मन्त्रालयहरुसँग बजेट, कार्यक्रम र खर्च शीर्षकमा छुट्टाछुट्टै छलफल हुनेछ ।

वैशाख २० गते सार्वजनिक संस्थानहरुको प्रगति विवरण छपाइका लागि पठाउने, २१ गते विनियोजन विधेयकका सिद्धान्तहरु र प्राथमिकताको मस्यौदा तयार गर्ने र २५ गते संघीय संसद्को दुवै सदनमा पेस गर्ने तालिका छ ।

यस्तै वैशाख ३० गते आर्थिक सर्वेक्षण छपाइ, जेठ १ गते बजेट वक्तव्यको पहिलो मस्यौदा तयार गर्ने, जेठ ५ गते राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस गर्ने, जेठ १० गते राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ गर्ने, १० गते नै व्यय अनुमान र खर्चको शीर्षकगत अनुमानको अन्तिम मस्यौदा तयार गर्ने र १२ गते किताब छपाइ गर्ने तालिका छ ।

वैशाख १३ गते आर्थिक र विनियोजन विधेयक र बजेट वक्तव्यलाई अन्तिम रुप दिने, १४ गते राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्मा ब्रिफिङ गरी छपाइका लागि पठाउने, आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयगत प्रगति विवरण संसद्मा पेस गर्ने र १५ गते संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार