हारबाट नेपालको प्रतिस्पर्धा सुरु

चीनको हानझाओ सुरु भएको १९औं एसियाली खेलकुदमा नेपाली टोलीको प्रतिस्पर्धा हारबाट सुरुआत भएको छ।

१९औं एसियाडमा प्रतिस्पर्धा हुने कुल ४० खेलमध्ये नेपालका कुल दुई सय ५३ खेलाडीले २९ खेल विधामा प्रतिस्पर्धा गर्दै छन्। एसियाली खेलुकदको सबैभन्दा ठूलो खेलमेलाको औपचारिक उद्घाटन आगामी असोज ६ गते (सेप्टेम्बर २३) मा हुने भए पनि भलिबल, फुटबल र क्रिकेटका केही प्रतिस्पर्धा भने सुरु भइसकेका छन्। यसमध्ये पुरुष भलिबल टोलीको प्रतिस्पर्धा नै जारी एसियाडमा नेपालका लागि पहिलो चुनौती रह्यो। यद्यपि, एसियाडमा नेपालको प्रतिस्पर्धाको यात्रा सुखद बन्न सकेन।

मंगलबार चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टरमा बहराइनविरुद्धको पुरुष भलिबलमा नेपालले पहिलो सेटमा आफ्नो बनाउँदै अग्रता बनाए पनि जोगाउन असफल रह्यो। पहिलो सेट जितेको नेपालले त्यसपछिका सेट लगातार गुमायो। त्यससँगै नेपालले बहराइनविरुद्ध पुरुष भलिबलमा ३–१ ले नतिजा सुम्पियो।

नेपालले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट सुरुआत गरेको थियो। त्यो अग्रतासँगै नेपालले पुरुष भलिबलमा जितका साथ अगाडि बढ्ने संकेत गर्‍यो। यो सेट २३ मिनेट चल्यो। यद्यपि, नेपालले लयलाई जारी राख्न सकेन।

दोस्रो सेट नेपालले २५–२० ले गुमाउन पुग्यो। यस सेटमा पनि नेपालले २३ मिनेटसम्म प्रतिस्पर्धा गरेता पनि आफ्नो लय बनाउन सकेन। नेपालले तेस्रो सेटमा भने झनै कमजोर प्रदर्शन गर्‍यो। २५ मिनेट चले पनि यो सेट नेपालले २५–१८ ले बहराइनलाई सुम्पियो। चौथो सेटमा पनि नेपालले सुधार गर्न सकेन। बहराइनले चौथो सेटमा २५–१५ को नतिजा निकाल्दै नेपालविरुद्ध उत्कृष्ट पुनरागमन गर्‍यो। यो सेट २१ मिनेटसम्म चलेको थियो। यससँगै समूह ‘बी’ को नेपालले हारबाट सुरुआत गर्‍यो। यो समूहमा नेपालसहित बहराइन र इरान छन्।

समूहको शीर्ष दुई टोलीले राउन्ड अफ टुवेलमा स्थान बनाउनेछन्। नेपालले अब समूहको दोस्रो तथा अन्तिम खेलमा बुधबार एसियाली भलिबलको महारथी इरानको सामना गर्नेछ। पुरुष भलिबलमा कुल १९ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। यसका खेलहरू सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछन्।

समूहको शीर्ष दुईमा रहने सके नेपालले नकआउट चरणको यात्रा तय गर्नेछ। यदी नेपाल समूहचरणबाट बाहिरिएमा अन्य खेल खेल्न पाउने छैन। यस पटक पुरुष भलिबलमा समूहचरणबाट बाहिरिने टोलीले वरीयताका लागि थप खेल खेल्न पाउने छैनन्।

जारी १९औं एसियाडमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलका चार ८१ विधामा चुनौती प्रस्तुत गर्दै छन्। नेपालका तर्फबाट एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्ने भएका छन्।

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विगतको प्रदर्शन र वर्तमानको नतिजाको आधारमा तेक्वान्दो, कराते र बक्सिङका खेलाडीलाई पहिलो प्राथमिकतामा राखेर तयारी गर्दै आएको थियो।

यी खेलमध्ये बक्सिङ र तेक्वान्दोका खेलाडी वैदेशिक प्रशिक्षणमा सहभागी भए भने करातेका खेलाडीले नेपालीमा नै प्रशिक्षण गरेका थिए। महिला भलिबलमा भने नेपाल समूह ‘सी’ मा छ। यस समूहमा दक्षिण कोरिया र भियतनाम छन्। नेपालले सेप्टेम्बर ३० मा भियतनामसँग खेल्दै प्रतिस्पर्धाको सुरुआत गर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार