रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि फेरि चल्दै

काठमाण्डौको रत्नपार्क–भक्तपुरको सूर्यविनायक द्रुत बस सेवा फेरि सञ्चालनमा आउँदैछ । आजदेखि थप ११ वटा बस थपेर सेवा सञ्चालनमा आउन लागेको हो ।

यसअघि सञ्चालनमा रहेका २५ वटा र थपिएका गरी अब ३६ वटा द्रुत बस पिक आवरमा चल्नेछन् । आज बिहान साढे ८ बजेदेखि सूर्यविनायकबाट बस चल्नेछ । अहिलेलाई बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म तीनरतीन मिनेटको फरकमा सूर्यविनायकबाट बस छुट्नेछन् ।

दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि बस छुट्ने समयतालिका छ । द्रुत बस सेवाका लागि सडकमा रङरोगन समेत गरिएको छ । ठाउँठाउँमा बोर्ड राखिएका छन् ।

काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन र यात्रुहरूको सहजताका लागि भनेर संविधान दिवसको अवसर पारेर गएको असोज ३ गतेदेखि द्रुत बस सेवाको शुरुवात गरिएको थियो । तर यो सेवा दशैँलगत्तै स्थगित भएको थियो ।

बस सञ्चालन गरे पनि प्रभावकारी हुन नसकेको गुनासो थियो । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले द्रुत बस सेवा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको र यसमा यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी, बस सेवा सञ्चालक र सेवाग्राहीसहित विभिन्न निकायको समन्वय आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार